शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न बालेन साहको निर्देशन

380

काठमाडौँ, ८ भदौ । काठमाडौँका महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यायलमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् ।

दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनले अपिल गरेका छन् ।

प्रेस विज्ञप्ति निकाल्दै मेयर साहले भनेका छन्, “राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्यको रूपमा राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौँ महानगरपालिकाअन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न यसै विज्ञप्तिमार्फत् सूचित गरिन्छ ।”

काठमाडौँ महानगरपालिकाका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ अनुसार महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था गरेको उनले बताएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२० को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।

यस्तै, मेयर साहले कुनै कर्मचारी राजनीतिक दलसँग आबद्ध भएको भए आफूलाई इमलेमार्फत् जानकारी गराउन पनि आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...