काठमाडौँ, ७ भदौ । ललितपुरको सात दोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ठुला बचतकर्ताहरूलाई चितवनमा रहेको जग्गा नामसारी गरिदिने भएको छ ।
लामो समयदेखि तरलता अभाव झेलिरहेको संस्थाले सोमबार एक कार्यक्रममा बचतकर्ताहरूलाई उपस्थित गराएर आफ्नो आगामी योजना सुनाउँदै ५ लाखभन्दा कम बचत हुने बचतकर्तालाई काउन्टरबाट किस्ता किस्तामा रकम उपलब्ध गराउने अध्यक्ष रविन्द्र चौलागाईंले बताए ।
५ लाखभन्दा बढी बचत हुने बचतकर्तालाई ठुला बचतकर्ताको लिस्टमा राखी चितवन महानगरपालिका–६ मेगौली मा रहेको ५७ बिगा जग्गालाई १२६७ प्लट गरिएको प्लटिङ बचतकर्ताको रकम सुरक्षा स्वरूप नामसारी गरिदिने चौलागाईंले बताए ।
विगत लामो समयदेखि संस्थाले बचत फिर्ता गर्न नसकेको सदस्यहरूले बताएका छन् । संस्थाले आर्कषक ब्याजदर दिएर निक्षेप तथा बचत संकलन गर्दै आएको थियो । सहकारी विभागले कर्जामा तोकेको अधिकतम् ब्याजदरभन्दा बढी संस्थाले बचतमा दिएको थियो ।
संस्थाको कुल वासलात करिब ३ अर्ब रुपैयाँ रहेको छ । सदस्यहरुबाट उठाएको अघिकांश बचत संचालकले आफैँ चलाएको सदस्यहरूको आरोप छ ।