आज २८४ गाडी फोहर बोकेर बन्चरेडाँडा पुगे, अब केही दिनमा उठिसक्छ : मेयर साह

562

काठमाडौँ, २ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहर केही दिनमा उठाइसकिने बताएका छन् ।

सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरू हटेको र आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर साहले जानकारी दिए । साहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरू रहेकाले समस्या रहेको बताएका छन् ।

“यही अवस्था कायम रहिरहेमा केही दिनमा नै सबै फोहोर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरू रहेका छन् । टिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ,” साहले भनेका छन् ।

फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको थियो ।

महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्ने समानान्तर (निःशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायतलाई उनले धन्यवाद दिएका छन् । महानगरलाई थप टिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न साहले आह्वान गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...