काठमाडौँ, २ भदौ । प्रतिनिधिसभाको आजको शून्य समयका सांसद्हरूले काठमाडौँमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद् अमृता थापामगरले काठमाडौँमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्ठकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिइन् । साथै, फोहोरका कारण नेपालका मुख्य सहर कुरूप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
यस्तै, सांसद् कलिना खातुनले फोहोर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिइन् । साथै, फोहोर व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र संघ सबै जुट्नुपर्ने बताइन् ।
त्यस्तै, सांसद् इन्दुकुमारस् शर्माले संविधानसभाबाट संविधान बनेको ७ वर्षसम्म नागरिकतामा राजनीति भएको बताइन् । उनले राजनीतिक दलहरूले समेत नागरिकतामा गम्भीर नहुँदा लाखौँ नागरिक नागरिकताविहीन भएको बताइन् ।
सांसद् शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौँ नागरिकको अधिकारमाथि कुठाराघात भएको बताइन् । उनले राष्ट्रपतिले जनताको संवेदनशीलताभन्दा पनि राजनीतिक दलभन्दा माथि उठ्न नसकेको आरोप लगाइन् ।
सांसद् खेमप्रसाद लोहनीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु राष्ट्रपतिको संवैधानिक अधिकार भएको बताए । उनले विवाह गर्नासाथ नागरिकता दिने व्यवस्था राख्न नहुने बताए ।
सांसद् अञ्जना विसंखेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरी सम्मानजनक तरिकाले पठाउनुपर्ने माग गरिन् ।
उमाशंकर अरगरियाले मुलुक संघीयतामा गएकाले कर्मचारी सुरूवा बढुवामा समस्या भएको बताए । उनले सरकार संघीय निजामति ऐन तत्काल ल्याउन माग गरे ।
सांसद् कृष्णगोपाल श्रेष्ठले भने नागरिकता विधेयकमा गम्भीर त्रुटि देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएको बताए । अब विधेयकको विषयमा गम्भीर छलफल गर्नुपर्ने उनले सुझाव दिए ।
कुमारी तुलसी थापाले राष्ट्रपतिबाट संसद्मा फिर्ता पठाएको विधेयक सर्वसहमति बनाउनको सट्टा गठबन्धनले जस्ताको तस्तै प्रमाणीकरणका लागि पठाउने निर्णयले राष्ट्रपतिको मानमर्दनमा अपमान गरेको बताइन् । उनले सत्ता गठबन्धनको अहंकारयुक्त निर्णयले आगामी निर्वाचनमा जनताले विवेक पुर्याउने बताए ।
सांसद् खेमप्रसाद लोहनीले नागरिकताको प्रमाणपत्र जस्तो संवेदनशील विषय उपहार दिएजस्तो तत्काल वितरण गर्न नहुने बताए । उनले सत्ता स्वार्थका लागि विवाह हुनासाथ नागरिकताको प्रमाणपत्र दिन नहुने बताए । उनले नागरिकता प्रमाणपत्र विवाह गरेर आएको सात वर्षपछि दिने व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तै, सांसद् गजेन्द्रबहादुर महतले राष्ट्रपति भण्डारीप्रति व्यंग्य गरे । उनले सरकारले नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताए । उनले अप्ठ्यारा कामहरू राति नै फत्ते हुने बताए । उनले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य ४ वटा समितिको सभापति फिर्ता गर्नुपर्ने बताए ।
सांसद् गणेश ठगुन्नाले दार्चुलामा बुधबार भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति जानकारी दिँदै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, सांसद् घनश्याम खतिवडाले स्वास्थ्य बिमाप्रति सरकारले गैरजिम्मेवारीपन देखाएको बताए । उनले काठमाडौँको फोहोर व्यवस्थापन अस्तव्यस्त, विकास निर्माण अस्तव्यस्तलगायत सबैतिर अस्तव्यस्त रहेकाले सत्ता गठबन्धन मंसिरसम्म बस्न नहुने बताए ।
सांसद् जयकुमार राईले देशभरका सडक, पुल समयमै ठेकेदारले निर्माण सम्पन्न नगर्दा यात्रुले सास्ती भोग्नुपरेको हुँदा सरकारले त्यस्ता ठेकेदारलाई समयमै काम गर्न लगाउन ध्यानाकर्षण गराए ।
यस्तै, सांसद् झपटबहादुर रावलले कैलालीमा डेंगु फैलिएर समस्या देखिएकाले तत्काल रोकथामका लागि सरकारसँग आग्रह गरे ।