काठमाडौँ, २ भदौ । प्रतिनिधिसभाको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच सामाजिक सञ्जालमा भएको ‘जुहारी’को विषय उठेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद् कृष्ण राईले सम्बन्धित मन्त्री काठमाडौँ महानगरका मेयरले लाचारी व्यक्त गरिरहेका बेला धरानका मेयर राईले म काठमाडौँ आएपछि फोहोरको समस्या समाधान हुने भयो भनेर घोषणा गरेको बताए ।
सांसद् राईले अगाडि भने, ‘यो विषयमा बालेन र हर्कजीको फेसबुकमा जुहारी परेको नै देखियो । यहाँ कुरा के हो भने ४ बुँदे सहमतिपछि पनि यहाँ फोहोर नउठ्ने समस्या देखिएको छ किनभने त्यहाँको जनताको समस्यालाई नजरअन्दाज गरेको देखियो । अर्कोतर्फ महानगरले फोहोर उठाउनुपर्ने विषय हो कि सरकारले भन्ने कुरामा पनि जनतमा अन्योलको स्थिति देखिन्छ । विचारणीय कुरा के छ भने न महानगरले योजना प्रस्तुत गरेको देखिन्छ न सरकारले गरेको देखिन्छ । उही पुरानै पारामा फोहोरलाई माटोले पुरेर व्यवस्थापन गर्ने, नयाँ प्रविधि भित्र्याएर यसलाई समाधान गर्नेतर्फ कसैको ध्यानाकर्षण भएको देखिएन ।’
साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौँ नगएको भए काठमाडौँको फोहोर उठ्ने थिएन रहेछ भन्दै स्टाटस लेखेका थिए । उनको पोस्टमा बालेनले प्रतिक्रिया दिएका थिए । उनले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि तपाईंकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि !’