बालेन–साम्पाङ ‘वाक युद्ध’ : हर्क भन्छन्– मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो

653

काठमाडौँ, २ भदौ । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका दुई चर्चित मेयर बालेन्द्र साह (बालेन) र हर्कराज राई (हर्क साम्पाङ)बीच फेसबुकमा जुहारी चलेको छ ।

काठमाडौँको फोहोरका विषयमा साम्पाङले व्यङ्ग्यात्मक स्टाटस लेखेपछि बालेनले पेचिलो जबाफ फर्काएका छन् ।

धरानबाट काठमाडौँ आउनासाथ साम्पाङले यहाँ थुप्रिएको फोहोरबारे सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका थिए । त्यसबेला बालेन मौन बसेका थिए । बुधबार फेरि साम्पाङले अर्को स्टाटस लेखेपछि बालेनले फेसबुकमै जबाफ दिएका छन् ।

साम्पाङले लेखेका छन्, “जसले जे भनोस् तर म काठमाडौँ नआएको भए फोहोर उठ्ने थिएन रैछ । कमसेकम काम त सुरू गरे ।”

साम्पाङको स्टाटसमा ३८ हजारभन्दा बढी लाइक र ११ हजारभन्दा बढी कमेन्ट आएका छन् ।

यो पोस्टमा बालेनको कमेन्ट आयो, “हो नी तपाईंकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जितेको हो नी ।” साम्पाङको पोस्टमा जस्तौ हजारौँले बालेनको कमेन्टमा पनि लाइक गरेका छन् र

बालेको जबाफपछि साम्पाङ चुप बसेनन् । उनले बालेनलाई अर्को स्टाटस लेखे । उनको दोस्रो स्टाटस छ, “आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !” यसमा बालेको कुनै कमेन्ट छैन ।

उनी यतिमा रोकिएनन् । केही बेरपछि झन् कडा स्टाटस लेखेका छन् । यसमा उनले अमर्यादित शब्द प्रयोग गरेका छन् ।

उनले भनेका छन्, “देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन । मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो । नामले खाएकाहरु हो… तिमेरुको रीस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।”

यसमा भने बालेनको जबाफ आएको छैन । कमेन्टमा धेरैले साम्पाङलाई संयमित बन्न र पोस्ट कम गर्न सुझाएका छन् ।

बालेन र साम्पाङ दुवै सामाजिक सञ्जालमा अति सक्रिय मेयर हुन् । संयोगबस दुवैले उही लौरो चुनाव चिन्ह लिएर निर्वाचन लडेका थिए । उनीहरूको हरेक कुरा तुलना हुने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...