इटहरी, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फोहोरको व्यवस्थापन गर्न नदिएर, फोहोरमाथि चरम राजनीति गरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई बदनाम गर्ने खेल भएको बताएका छन् । प्रदेश नम्बर १ इटहरीको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वतन्त्रबाट वा नयाँ आएकाहरूले केही गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नका निमित्त बालेनलाई बदनाम गर्ने खेल भएको बताए । “जनताले सम्बोधन गरेर, साहस गरेर जिताएर पठाएकाहरूलाई असफल पार्ने साँधकाट गरिएको छ,” उनले भने, “कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनौँ । हामी त्यसका लागि जे गर्न पर्छ तयार छौँ । यदि हर्कहरू, बालेनहरू असफल भए भने अरू स्वतन्त्रहरूले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिनलाग्दो राजनीति खेल सुरू भइसकेको छ ।”
लामिछानेले जनताले आशा गरेर जिताएर पठाएका युवा राजनीतिज्ञहरूको सफलताका लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जानै पर्ने बताए ।