हेटौँडा, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका ठुला दलका नेताहरूले आफ्नो परिवारको समृद्धिका लागि मात्र काम गरेको आरोप लगाएका छन् ।
शुक्रबार हेटौँडामा आयोजना भएको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले ठुला भनिएका दलका नेताहरूको परिवारवादी सोचको कारण देश विकास नभएको दाबी गरे ।
उनले भने, “अर्काको छोराछोरीलाई बन्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?”
बागमती प्रदेशमा १८ जना मन्त्री केका लागि भन्दै उनले प्रश्नसमेत गरे । “प्रदेशमा १८ जना मन्त्री बनाएर जनतालाई हिलो, धुँवा खुवाउँदै खाडल भएको सडकमा गुड्नका लागि मात्र १८ जना मन्त्री बनाएको हो ? प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ताका भर्ती केन्द्र मात्र हुन् ? त्यसैले यो संरचनाबारे सोच्नुपर्ने समय आएको छ,” उनले भने ।
लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खेलेरै हुने बताए
“जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौँडा सिमेन्ट कारखानको मेसिनहरूको नट बिग्रिन्छन् र निजी लगानीकर्ताले सिमेन्ट बेचेर बोनस बाँड्छ । सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुने छ,” उनले भने ।
उनले नेताहरूले पुर्खाले बचाइरहेको स्वाभिमान व्यक्तिगत, पार्टीगत स्वार्थ पूरा गर्न विभिन्न सम्झौता र दूतावासमा बेचेकाले उनीहरूले नै भाषणमा भन्ने गरेको अन्याय र बेथिति सहनुहुन्न भन्ने कुरालाई व्यवहारिक बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी जनतामाझ विकल्पको रूपमा उदाएको दाबी गरे ।