काठमाडौँ, २७ साउन । अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका शाही शुक्रबार बिहान एक कार्यक्रमबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खााणले पार्टी सदस्यतासँगै नेपाल तरूण दलको सदस्यता पनि दिए ।
मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरूण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरूङलगायत उपस्थित थिए ।
अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर यो पार्टीमा प्रवेश गरेको बताए । साथै उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए । ‘धेरै अग्रज र सम्मानित कालाकारहरू कांग्रेसमा हुनुहुन्छ । यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उनले भने ।
उनले आफू युवा भएकाले तरूण दलमार्फत् युवाका पक्षमा काम गर्न चाहेको बताए ।