काठमाडौँ, २६ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखिएको बताए ।
‘मबाट सुरू गर्ने प्रवृत्ति व्याप्त छ । ‘म’ले पाइन भने जस्तो सुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित भावना राख्नुपर्छ र ‘म’भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्छ,’ उनले भने ।
अध्यक्ष नेपालले जनताका समस्यालाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन पनि दिए ।