विद्युत् प्राधिकरणको नाफा १६ अर्ब, विद्युत् चुहावट १५.३८ प्रतिशतमा झर्‍यो

386

काठमाडौँ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत् निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत्‌गृहहरूबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौँ, विद्युत् चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याएको थियो । तर, आव २०७७/७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत् बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत् बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्‍यो
प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ । विद्युत् प्रणालीमा आव ०७२/७३ मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरूमा निरन्तर घटाएर आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो । आव २०७८/७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत बिन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाईअघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौँ,’ उनले भने ।

विद्युत निर्यात बढ्यो, खुद आयात घट्यो
आव २०७८/७९मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत् खपत २१.२८ प्रतिशतले वृद्धि हुँदासमेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ ।

आन्तरिक माग धान्न आव २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ ।

आव २०७७/७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो । आव २०७८/७९ मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युत्‌बाट निर्यात गरेको विद्युत् घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ । रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ ।

कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरू हुने बताए । आव २०७८/७९ मा विद्युत् पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत् प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिकसहित ५३ लाख पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...