काठमाडौँ, २५ साउन । सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग २ करोड अमेरिकी डलर (करिब साढे २ अर्ब रुपैयाँ) ऋण लिएको छ । बैंकले काठमाडौँमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।
आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइले यो ऋणले नेपालको आर्थिक पुनरूत्थानमा सहयोग गर्ने बताए ।
तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै आइएफसीसँग सम्झौता गरेर उक्त विदेशी मुद्रामा उल्लिखित रकम बराबर ऋण लिइएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए । उक्त रकमबाट लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गरिने उनको दाबी छ ।
हाल बैंकले मुलुकभर १२७ वटा शाखा कार्यालय र १२० एटीएम काउण्टरमार्फत् वित्तीय सेवा दिइरहेको छ ।