काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
महानगरले सोमबार नर्भिक अस्पताललाई सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउन २४ घन्टे अल्टिमेटम दिएको थियो ।
त्यसको जबाफमा मंगलबार नर्भिक अस्पतालले तत्काल घर टहरा भत्काउन नसकिने बताएपछि मेयर साह नर्भिक पुगेका हुन् ।
अस्पताल पुगेको महानगरको टोलीले अहिले अस्पताल प्रशासनसँग छलफल गरिरहेको छ । छलफलमा टोलीले प्राविधिकहरूको निरीक्षणपछि आवश्यक समय दिने सहमति जुटेको छ ।
महानगर र अस्पतालको प्राविधिकहरूले संयुक्त रूपमा निरीक्षण गरेपछि संरचना हटाउन वा नक्सा पास गर्नका लागि समय दिने सहमति भएको छ ।
सरकारको भाडामा दिएको जग्गामा अहिले क्यान्टिन, अक्सिजन प्लान्ट, एमआरआई मेसिन भएको र उक्त संरचना तत्काल हटाउँदा बिरामीलाई समेत समस्य पर्ने देखिएकाले समय थप गर्न माग गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
सोमबार महानगरले सूचना जारी गर्दै नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आना जग्गामा सम्झौताविपरीत र नक्सा पास नगरी घर टहराा बनाएको भन्दै ती संरचना २४ घन्टाभित्र हटाउन निर्देशन दिएको थियो ।