काठमाडौँ, २३ साउन । भारतले पाँचौँ टी–२० खेलमा आइतबार वेष्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३–१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौँ खेलमा निकालेको जितपछि भारतले शृंखला ४–१ ले जित्यो ।
भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १५.४ ओभरमा मात्र एक सय रनमा समेटियो । वेष्ट इन्डिजका लागि शिम्रोन हेटमायरले ३५ बलमा पाँच चौका र चार छक्का मद्धतमा ५६ रन जोडे पनि जितका लागि पर्याप्त भएन । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।
यसअघि, टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनको योगफल तयार पारेको थियो । भारतका लागि श्रेयस आयरले ४० बलमा आठ चौका र दुई छक्काको मद्धतमा ६४ र दिपक होड्डाले ३८ रन जोडे ।
वेष्ट इन्डिजका ओडिन स्मिथले तीन तथा डोमिनिक डार्क, ज्यासन होल्डर र हेडेन वाल्सले समान एक विकेट लिए ।