काठमाडौँ, २२ साउन । नेकपा (माओवादी केन्द्र)का सांसद् हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बचाउन चाहेको बताएका छन् ।
प्रतिनिधिसभामा जारी प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै गजुरेलले प्रस्तावमा सत्ता र प्रतिपक्ष एक ठाउँमा आउनुपर्ने जरूरी रहेको उनले बताए ।
‘प्रधानन्यायाधीशको बारेमा धेरै कुरा आइसक्यो । यहाँ व्याख्या गर्नु नि बेकार हो । जनताले थाहा पाइसक्या छन् । आम मान्छेलाई थाहा छ,’ उनले भने, ‘सत्तापक्ष÷प्रतिपक्ष एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरौँ भन्नुपर्ने हो । तर, दुई तिहाइ नभइ पारित हुँदैन । प्रतिपक्षको सहयोग चाहिन्छ । तर, प्रतिपक्षी दल नेकपा (एमाले) जिब्रो चपाइराख्या छ । यहाँ सोझै बोल्न गाह्रो छ प्रतिपक्ष बचाउन चाहन्छ । सोझै बोले जनताको बीचमा गाह्रो छ,’ उनले भने ।
प्रधानन्यायाधीश जबराका सम्पूर्ण गतिविधिहरू र त्यसका परिणाम राष्ट्रले देखेको र भोगेको सांसद् गजुरेलले बताए ।
‘आम जनता त्यसमा प्रष्ट छ । तर, संसद्भित्र भएका राजनीतिक दलहरू यस्तो विषयमा प्रष्टरूपमा नआउँदा जिब्रो चपाएर कुरा गर्ने, हामी जनताका प्रतिनिधि हौँ भन्ने सत्यको पक्षमा उभिनुपर्छ कि पर्दैन ? प्रक्रिया मिल्यो कि मिलेन, समय मिल्यो कि मिलेन भन्ने कुरा मुख्यो हो कि, गलत भएको हो कि होइन ? महाअभियोग ल्याउनुपर्ने थियो कि थिएन ? त्यो कुरामा हाम्रो ध्यान जानुपर्छ,’ उनले भने ।