गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर अहंकार नदेखाए हुन्छ : माधव नेपाल

75

पोखरा, २२ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको दाबी गरेका छन् ।

मुस्लिम इत्तेहाद संगठनको गण्डकी प्रदेशस्तरीय भेलाको पोखरामा उद्घाटन गर्दै उनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर थप स्थापित गर्नेसमेत बताए । संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह बढेको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री नेपालले पार्टीका नेता कार्यकर्तालाई संगठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशन दिए ।

उनले गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहंकार नदेखाउनसमेत आग्रह गरे ।

‘गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नुहोला । जनताको दुःख, सुखमा साथ दिने काम गरेर निर्वाचनमा पार्टीलाई महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्नु पर्ने छ,’ उनले भने ।

गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा जित्न सफल भएको उनले उल्लेख गरे ।

अध्यक्ष नेपालले धेरै स्थानमा पार्टीको चुनाव चिन्ह जनतालाई चिनाउन नसकेको र धेरै मत बदर भएकाले समेत अपेक्षित नतिजा प्राप्त हुन नसकेको बताए ।

नेपालमा मुस्लिम समुदायमा रहेको गरिबी अन्त्य गर्नुपर्ने खाँचो रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको तर्फबाट पिछडिएको वर्गका लागि विशेष ध्यान दिनुपर्ने बताए ।

सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद् कलिला खातुन, पोखरा महानगरका प्रमुख धनराज आचार्य, मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष ताजमहमद मियाँलगायतले मुस्लिम समुदायको हक अधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...