एक खेल अगावै भारतले जित्यो टी–२० सिरिज

227

काठमाडौँ, २२ साउन । वेष्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले पाँच खेलको टी–२० सिरिज एक खेल अगावै ३–१ ले जितेको छ । अन्तिम खेल आज हुने छ ।

१९२ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १९.१ ओभरमा मात्र एक सय ३२ रनमा समेटियो । वेष्ट इन्डिजका लागि निकोलास पुरन र रोभमन पावेलले समान २४ रन बनाए । यस्तै, शिम्रोन हिटमेयरले १९, काइल मेयरर्सले १४ रन जोडे भने ब्रान्डन किङ र ज्यासन होल्डरले १३–१३ रनको योगदान दिए ।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा भारतका अर्शदीप सिंहले तीन तथा आभेस खान, अक्षर पटेल र रवि बिस्नोइले समान दुई विकेट लिए ।

यसअघि, फ्लोरिडामा टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९१ रनको योगफल बनाएको थियो । भारतका लागि ऋषभ पन्तले ४४, कप्तान रोहित शर्माले ३३ र सञ्जु सामनसनले अविजित ३० रन जोडे । यस्तै, सूर्यकुमार यादवले २४, दिपक हूडाले २१ रनको पारी खेले भने अक्षर पटेल २० रनमा अविजित रहे ।

वेस्ट इन्डिजका ओवेड म्याकोइ र अल्जारी जोसेफले समान दुई तथा अकिल होसेनले एक विकेट लिए ।

यसअघि भएको खेलमा भारत पहिलो खेलमा ६८ रन तथा तेस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । वेष्ट इन्डिजले दोस्रो खेलमा ५ विकेटको जित हात पारेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...