काठमाडौँ, १६ साउन । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले (आइओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।
अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले भने मूल्य घटाएन ।
मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ ।
अब नेपालमा मूल्य नघटनएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारीमा नाफा रहने भएको छ । यद्यपि डिजेलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगमको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक निगमलाई इन्धनको मूल्य घटेर आएको हो ।