धरानका मेयर साम्पाङसहितले गाएको गीत सार्वजनिक

297

धरान, १० साउन । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ । सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो । गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गरेका छन् ।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरु राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका प्रमुख हर्क साम्पाङले पनि स्वर दिएका छन् । गीतमा मनोज मोतेले संगीत भरेका छन् । धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको हो ।

हलुवाईले धरानमा पदयात्रा संस्कृतिलाई व्यापक गर्न लामो समयदेखि अभियान चलाउँदै आएका छन् । स्वास्थ्यका लागि हिँडौँ भनेर उनले प्रत्येक शनिबार नयाँ नयाँ ठाउँमा समूह बनाएर पदयात्रा गर्दै आएका छन् ।

हलुवाइको अभियानको प्रभावले धरानमा पदयात्रामा निस्कने धरानेहरुको सङ्ख्या ठुलो छ । पदयात्राको अगुवाइ गरिएकाले यहाँ उनी ‘हाइकिङ बाबा’को नामले पनि परिचित छन् । उनै हलवाईले रचना गरेको हाइकिङ गीत सोमबार सार्वजनिक गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...