काठमाडौँ, ८ साउन । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्दले दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरेका छन् । उनले आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउनसमेत देशवासीलाई अपिल गरेका छन् ।
शनिबार साँझ आयोजित आफ्नो बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका लागि गर्ने काम सर्वोच्च प्राथमिकतामा हुनुपर्ने भन्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए । संसद्का दुवै सदनले शनिबार बेलुका आयोजना गरेको बिदाई कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको सहभागिता थियो ।
सो समारोहलाई सम्बोधन गर्दै उनले भारतको लोकतान्त्रिक व्यवस्थालाई एक ठुलो परिवारको संज्ञा दिँदै परिवारको मतभेद सुल्झाउनका लागि शान्ति, एकता र आपसी छलफललाई प्राथमिकता दिनुपर्ने बताए ।
आफ्ना माग सम्बोधनका लागि दबाब दिने थुप्रै संवैधानिक तरिकाहरु रहेको बताउँदै उनले महात्मा गान्धीले शान्ति र अहिंसाको माध्यमबाट आफ्नो लक्ष्य पूरा गरेको स्मरण गराए ।
भारतको १४औँ राष्ट्रपतिको रुपमा २५ जुलाई २०१७ देखि कार्यभार सम्हालेका कोविन्दको कार्यकाल आज (२४ जुलाई)मा पूरा भएको छ । १५औँ राष्ट्रपति चुनिएकी द्रौपदी मुर्मुले आइतबार कार्यभार सम्हाल्ने छिन् ।