काठमाडौँ, २३ असार । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।
प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री गहतराजले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए। उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धतासमेत जनाए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकल बोन (ब्युटी बोन) भाँचिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि अस्पतालमै उपचार गराइरहेकी नगरकोटीलाई भेट्न मन्त्री गहतराज बिहीबार बिहान ललितपुरको बीएण्डबी अस्पताल पुगेका हुन् ।
उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।