काठमाडौँ, १९ असार । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सिसिटिभी फुटेज लुकाएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सिसिटिभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका थिए । अर्थमन्त्री शर्माले असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा बोलाएर रातारात करका दर परिवर्तन गर्न लगाएको आरोप लाग्दै आएको छ । अर्थमन्त्रीले असम्बन्धित व्यक्तिलाई करका दर निर्धारणमा स्थान दिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा चर्को विरोध गरेको थियो ।
यस्तै, सिसिटिभी फुटेजको माग गरेर उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव नेपालले अर्थमन्त्रालयमा सूचनको हकको प्रयोग गरेर निवेदन दिएका थिए । निवेदनमा उनले २०७८ भदौ २४ गते बेलुका ११ बजेदेखि २०७८ भदौ २५ गते बिहान ६ बजेसम्म र २०७९ जेठ १४ गते बेलुका ६ बजेदेखि २०७९ जेठ १५ गते बिहान ६ बजेसम्मको सिसिटिभी फुटेज माग गरेका थिए ।
अर्थ मन्त्रालयले निवेदनको जबाफ आज पौडेललाई दिएको छ । जबाफमा मन्त्रालयले भनेको छ,‘मन्त्रालयमा जडान भएको सिसिटिभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र सिसिटिभी फुटेज अभिलेखमा रहने र तत्पश्चात पहिलेको अभिलेख क्रमशः मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही व्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’
अर्थ मन्त्रालयको यो भनाइ सरकारले २०७२ सालमा लागु गरेको सिसिटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधिविपरीत पाइएको छ ।
कार्यविधिमा सिसिटिभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नु पर्ने उल्लेख छ । तर, अर्थ मन्त्रालयले १३ दिनभन्दा बढीको सिसिटिभी फुटेज नरहने बताएको छ ।