ट्राफिक जाममा एउटै नम्बरका दुईवटा बाइक भेटिएपछि…

160

काठमाडौँ, १५ असार । बुधबार सामाजिक सञ्जालमा एउटा तस्बिरले चर्चा पायो । बिहान काठमाडौँको गौशाला चोकको त्यो तस्बिरले दुई जना मोटरसाइकल चालक ट्राफिक जाममा रोकिएका थिए । त्यो तस्बिरमा दुई वटा बाइकका सवारी चालकले एक अर्काको नम्बर प्लेट हेर्दै गरेको देखिन्छ ।

बुधबार बिहान ८:२५ मिनेटतिर प्रदीपजंग क्षेत्री गौशाला चोकको ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठिक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्‍यो ।

दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले ‘रेनकोट’ लगाएका थिए । तर, मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२प २३८० नम्बर थियो ।

त्यसपछि उनले फोटो खिचेर मेन्स रुम रिलोडेडमा पोष्ट गरे । उक्त एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल एकै स्थानमा देखिएको तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा आएपछि यसबारे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जिव शर्मा दासका अनुसार यो तस्बिर बाहिरिएपछि कार्यालयले दुवै मोटरसाइकल खोजेको हो ।

एटटा मोटरसाइकल चालक भने सम्पर्कमा आइसकेका छन् । एनएस पल्सरका चालक ट्राफिक प्रहरी कार्यालयमा छन् । उनको कागजात हेर्दा भने सबै ठिक भएको उनले बताए ।

‘एउटा एनएस पल्सर सबै कागज पत्र पनि ठिकै, नम्बर पनि ठिकै भएको छ,’ उनले भने,‘उनी काभ्रेका बासिन्दा रहेछन् । उनको बाइक रजिष्ट्रेड छ । १५० सिसिको पल्सर हो । तर, अर्को बाइक भने हालसम्म भेटिएको छैन ।’

प्रवक्ता दासका अनुसार अर्को मोटरसाइकल भने भक्तपुरतर्फ गएको सिसिटिभीमा देखिएको छ । उक्त मोटरसाइकल चालकको पनि खोजी भइरहेको कार्यालयले जनाएको छ । उनी पनि सम्पर्कमा आइसकेपछि मात्रै के भएको हो भन्ने बुझिने प्रवक्ता दासले बताए ।

दुईवटा सवारीसाधनको एउटै नम्बर प्लेट भएका घटना यसअघि पनि सार्वजनिक भएका छन् । ‘यसमा यातायात व्यवस्था विभागले प्रदान गर्ने नम्बरको प्रिन्ट मिस्टेक पनि हुन सक्छ वा नक्कली नम्बर प्लेट राखिएको पनि हुनसक्छ,’ उनले भने ।

ढड्डामा गएर ‘पेपर वर्क’बाट काम गर्ने हुँदा नेपालमा नम्बर प्लेट डबल प्रिन्ट पनि हुन सक्ने दासको भनाइ छ ।

यस्तै, यातायात व्यवस्था विभागले पनि यसभन्दा अगाडि पनि अपवादको रुपमा यस्तो हुने गरेको जनाएको छ । यसमा भने दुवै बाइक नसमातिएसम्म अहिले नै ‘प्रिन्ट मिस्टेक’ भन्न नमिल्ले विभागको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...