स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा हुनपर्छ : महानगर प्रमुख साह

129

काठमाडौँ, २८ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभइ सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन् । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन् ।

मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रियासमेत गरे । अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रिया पश्चात उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरे ।

उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिए ।

अस्पतालका अध्यक्ष डा.मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन् ।’

महानगरका मेयर साहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ ? सहकार्य कसरी हुनसक्छ ? बार्षिकरुपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए । मेयर साहले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाए ।

स्वास्थ्य र सरसफाईमा महानगरले उच्च चासो दिएको बताउँदै यसका लागि नयाँ नयाँ योजना तथा सल्लाह सुझावहरु लिएर आउनेसँग सहकार्य गरिने बताए । सो क्रममा कामपा १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धरसमेत सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...