काठमाडौँ, ४ जेठ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उम्मुख बजेट ल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले संविधानमा समावेश राज्यका निर्देशक सिद्धान्तका आधारमा आगामी बजेट निर्माण गर्न सुझाव दिए ।
कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण गरेर लैजानु पर्नेमा जोड दिँदै उनले खाद्यान्नको आयात न्यूनीकरण गर्न कृषिको उत्पादन बढाउनुपर्ने बताए । “अब खेतीयोग्य जग्गा टुक्राटुक्रा पार्ने प्रवृत्ति छ, त्यसलाई रोक्नुपर्छ, किसानलाई उन्नत जातका बीउ र मल उपलब्ध गराउनुपर्छ,” उनले भने,“कृषि अनुसन्धानका क्षेत्रमा लगानी बढाउनुपर्छ ।”
कृषकका उत्पाद बिक्री नभएर किसानले नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन कृषि उत्पादनको न्यूनतम मूल्य तोकिदिनुपर्ने उल्लेख गर्दै उनले आगामी आवको बजेटमा कृषिको समर्थन मूल्य तोकिने विषय समावेश गर्न सुझाव दिए ।
जलस्रोतको पर्याप्त सम्भावना हुँदाहुँदै पनि सदुपयोग हुन नसकेको भन्दै उनले ठुला परियोजना नेपाल आफैँले निर्माण गरेर जानुपर्ने बताए । पेट्रोलियम पदार्थको खपत बढ्दै जाँदा मुलुकको व्यापार घाटा चुलिएको जनाउँदै उनले पेट्रोलियम यातायात साधनलाई विद्युतीय साधनका रुपमा रुपान्तरण गर्न सके पेट्रोलियम पदार्थको आयात न्यूनीकरण हुने स्पष्ट पारे ।
विद्युत्को आन्तरिक खपत बढाउने र बढी भएको विद्युत् मात्र बिक्री गर्ने नीति लिइनुपर्नेमा जोड दिँदै विद्युत् प्रशारण लाइनको विस्तारमा सरकारको विशेष ध्यान जान जरुरी रहेको बताए ।
प्रगतिशील कर प्रणाली लागु गर्न आग्रह गर्दै उनले करको दायरा फराकिलो बनाउँदै राजश्व चुहावटमा कडाइ गर्नुपर्ने बताए ।