गठबन्धन जनमतको अपमान गर्ने प्रवृत्तिविरुद्ध हो : चित्रबहादुर केसी

131

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौँ महानगरलाई महानगर जस्तै बनाएर देश र विदेशमा सकरात्मक सन्देश दिन आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने बताए ।

वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट गरे ।

व्यवस्था जोगाउने सर्तमा पाँच दलका बीचमा गठबन्धन भएको उल्लेख गर्दै उनले गलत प्रचार गर्ने प्रवृत्तिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले भने,“हामीले इमान्दार भएर एक अर्कालाई सहयोग गरौँ । राष्ट्रिय जनमोर्चाले देशभर नै सहयोग गर्छ । गठबन्धनभन्दा प्रतिगमन बलियो छ । त्यसकारण संयुक्त प्रतिवाद गरौँ ।”

आजभन्दा ४ वर्षअघि वाम गठबन्धनमा समावेश भएको स्मरण गराउँदै उनले त्यो गठबन्धन टिक्न नसकेको बताए । “त्यो बेला हाम्रो समर्थन खेर गयो । झन्डै दुई तिहाइ बहुमत पाएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार चलाए । तर, पछि त बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद नै देख्नै नहुने समस्या भयो,” उनले भने ।

ओलीले संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताएको उनले स्मरण गराए ।

अध्यक्ष केसीले अहिले प्रतिगमनकारीहरुले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको बताए । विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिले पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए । “पाँच दलभित्र प्रशस्तै विरोध छ । एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा हुनु स्वभाविक हो,” उनले भने ।

गठबन्धनभित्रका अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए । “एमसीसी पास गराउँदा हामीले गठबन्धनसँगको सहकार्य तोड्यौँ । पछि चुनावको बेला फेरि एकजुट भयौँ,” उनले भने ।

आफ्नो शक्तिअनुसार नै जनमोर्चाले स्थानीय तह निर्वाचनमा उम्मेदवार उठाएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...