कहीँ नभएको जात्रा ओलीको पालमा देखियो : माधव नेपाल

228

काठमाडौँ, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कही नभएको जात्रा केपी ओलीको पालामा भएको बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पालामा जात्रै जात्रा भएको बताए ।

“पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने । ३०० अस्पतालका भवन आजै उद्घाटन गरिदिने । कहीँ नभएको जात्रा जस्तो सबै एकैदिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,” उनले भने ।

अध्यक्ष नेपालले बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धनभित्र अविश्वास पैदा हुने बताए । गठबन्धन नभएको ठाउँमा आ–आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

“बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ,” उनले भने ।

पाँच दलले उठाएका काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरले काठमाडौँको विकासका लागि उत्कृष्ट विचार अघि सारेको बताए । उनले भने, “गठबन्धनका उम्मेदवार एकदमै राम्रो विचार भएका छन् । आफूले नसक्ने काम विज्ञमार्फत् गर्छु भन्नुभएको छ । यो अत्यन्तै उत्कृष्ट विचार हो ।”

गफ नभएर काम गरेर जनताको मन जित्नुपर्नेमा उनले जोड दिए । गठबन्धनतर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुनसमेत आग्रह गरे ।

काठमाडौँका लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उनले फिलिपिन्सको विकासको मोडल समेत स्मरण गराए ।

Share This:
सम्बन्धित खबर
Loading...