- रोहन जिसी
बागलुङ, २३ वैशाख । काठेखोला गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्षका उमेदवार डिलबहादुर कार्कीले गाउँपालिकाको अध्यक्षमा विजयी भएपछि सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
“राजनीतिलाई सामाजिक सेवाका रुपमा लिएको छु, व्यक्तिगत रुपमा गाउँपालिकाले अध्यक्षलाई दिने सेवा सुविधा गाउँका जनताको सामाजिक कार्यमा लगाउने छु,” कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “अध्यक्ष पदमा विजयी भएपछि पाउने सेवा सुविधा गाउँको विकासमा लगाउने छु ।”
“मेरो परिवार नै सामाजिक सेवागर्दै आएको परिवार हो, मेरो बुवाले काठेखोला गाउँपालिका–७ साविक रेश गाविसमा २५ वर्ष प्रधानपञ्च भएर गाउँको विकासमा योगदान गर्नुभयो, मैले बुवाबाट सामाजिक सेवा कसरी गर्ने भन्ने बुझेको छु,” उनले अघि भने, “मैले राजनीतिबाट आर्थिक रुपमा केही लिनु छैन, राजनीतिमार्फत् गाउँपालिकाको विकासमा प्रतिबद्ध भएर लाग्छु ।”
एमालेको प्रतिवद्धताअनुसार समृद्ध काठेखोला निर्माणमा सबैको सहयोग लिएर काम गर्ने उनको भनाइ छ ।