चुनावमा ६ करोड खर्च भएको बताएका कोइरालाले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण

234

काठमाडौँ, १९ वैशाख । निर्वाचन आयोगले निर्वाचन खर्चका विषयमा जथाभावी नबोल्न कांग्रेस नेता डा.शशांक कोइरालालाई सचेत गराएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण दिएको भए पनि ६ करोड खर्च भएको भनेर दिएको अभिव्यक्तिविरुद्ध सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आयोगले सम्बद्ध दल र व्यक्तिलाई सचेत गराउने निर्णय गरेको हो ।

आयोगले भनेको छ, “कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधार माथिनै अनास्था पैदा हुने देखिएकोले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै र उक्त जानरकारी सम्बन्धित व्यक्तिलाई दिइ सम्बद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरेको छ ।”

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयन गर्न सचेत गराएको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आचारसंहितविपरीतको काम नगर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपालाई पनि सचेत गराइएको बताए ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका क्रममा पोष्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै, आयोगले काठमाडौँ महानगरको प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत भएको पाइएकाले सोबारे २४ घन्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको अर्यालले बताए ।

यसैगरी स्थापितबारे जारी भएको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेकाले सो सम्बन्धमा स्पष्ट पार्न महिला पुनःस्थापना केन्द्र (ओरेक)लाई आयोगले स्पष्टीकरण सोधेको र प्रेस विज्ञप्तिलाई सार्वजनिक माध्यमबाट यथाशीघ्र हटाउन पनि निर्देशन दिएको उनले बताए ।

आयोगले स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ ।

निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको समेत आयोगले जनाएको छ ।

निर्वाचनको मिति नजिकिएका समयमा इन्टरनेट सेवा प्रदायक संघ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...