कानुनको व्यवस्थाअनुरुप नै सिंहलाई आइजीपीमा बढुवा गरिएको हो : गृह सचिव पाण्डे

153

काठमाडौँ, १९ वैशाख । गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षक (आइजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दज्र्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन् ।

उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै सिंहलाई महानिरीक्षकमा बढुवा गरिएको बताए ।

सचिव पाण्डेले एआइजीहरुमा सिंह सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए । उनले सबै एआइजीहरु २०४९ साल चैत्र १२ गते नियुक्त भएकाले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पारे ।

नेपालमा ७९ हजार नेपाल प्रहरी र ३७ हजार हाराहारीमा सशस्त्र प्रहरी जनशक्ति रहेकाले बदलिँदो समाजको आवश्यकता र मागलाई धान्न नसकिरहेको उल्लेख गर्दै गृहसचिव पाण्डेले प्रहरी न्यूनतम एक लाख र सशस्त्र प्रहरीको जनशक्ति ५० हजार पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए । गृह सचिव पाण्डेले त्यसतर्फ दुवै महानिरीक्षकबाट ठोस उपलब्धिमूलक र देखिने काम हुने विश्वास व्यक्त गरे ।

गृहसचिव पाण्डेले आन्तरिक रुपमा रहेको विकृति र विसंगतिलाई हटाउनु दुवै प्रहरी बलका लागि चुनौती रहेको बताए ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक मर्यादाको परिधिभित्र रहेर काम गर्ने बताए । हरेक सांगठिनक क्रियाकलापलाई पारदर्शीतापूर्ण गरी भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम राख्दै आपराधिक तत्वको क्रियाकलाप निमिट्यान्न पार्ने उनको भनाइ छ । त्यस्तै, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले मानव संशाधनको विकास, आधुनिक प्रविधिको विकास र नतिजामुखी नवीन कार्यशैलीको कार्यसम्पादनलाई विशेष प्राथमिकता दिने बताए ।

महानिरीक्षक अर्यालले स्थानीय तह निर्वाचनलाई प्राथमिकतामाथिको प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाए ।

Share This:
सम्बन्धित खबर
Loading...