काठमाडौँ, १९ वैशाख । राजधानी काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएर चर्चा बटुलेकी छन् ।
सामाजिक सेवामा अहोरात्र खटेकी यी युवतीको क्रियाशिलता देखेर नगरबासी पनि छक्क पर्ने गरेका छन् । सामाजिक क्षेत्रमा लोकप्रिय भएकी यी महिलाको राजनीति गर्ने चाहना, योजना र क्रियाकलाप देखेर धेरैले कसरी सम्भव भएको होला भनी अचम्म मान्ने गरेका छन् ।
टोखा नगरपालिका वडा नम्बर ३ स्थायी घर भएकी रजनी थापाको क्रियाकलाप मात्र होइन, संलग्नता हेर्दा उनी बहुमुखी प्रतिभाकी धनीभन्दा पनि फरक पर्दैन । नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष भएकी रजनी लाइन्स क्लव काठमाडौँ देउराली धापासीकी अध्यक्ष हुन् ।
फ्लाट प्लगको सद्भावनादूत भएकी रजनी नेपाल मौरिसस विजनेस काउन्सिलको कोषाध्यक्ष, सिँगटी हाइड्रो पावरको सञ्चालक सदस्य, रजनी स्टार प्रालिको अध्यक्ष, रजनी सचेतना नेपाल फाउण्डेसनको प्रमुख, राष्ट्रिय गोजुरियो कराते डो एसोसिएसन नेपालको सचिव पनि हुन् ।
रजनी सचेतना नेपाल फाउन्डेसनमार्फत् उनले महिला जागरण, सचेतनादेखि महिला सुरक्षाको विषयमा देशव्यापी रुपमा आफैँ कार्यक्रम सञ्चालन गर्दै हिँडेकी छन् । महाभूकम्पको समयमा विपत्तिमा परेका नागरिकको सेवादेखि कोभिड–१९को महामारीको बेला लक डाउनका कारण समस्यामा परेका नागरिकको सेवासमेत गरेकी छन् ।
चाइल्ड डेभलेपमेन्ट एन्ड जेन्डर सोसलाइजेसन, राजनीति शास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी रजनीले एलएलबी उतिर्ण गरी बिएन नर्सिङको समेत अनुभव लिएकी छन् ।
उनै रजनीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले टोखा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवारसँग उपमेयरको उम्मेदवार हुँदा करिब ५० मतको अन्तरालमा पराजित भएकी रजनीको लोकप्रीयतालाई देखेर कांग्रेसले मेयरमा नै टिकट दिएको छ ।
रजनीले आफूले मेयरमा विजयी भएपछि स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष कार्यक्रम ल्याउने भन्दै आफ्नो कार्यकालमा राज्यबाट एक पैशा पनि सुविधा नलिने घोषणा गरेकी छन् । उनले कांग्रेसले अघि सारेको कोखदेखि शोकसम्म भन्ने नारालाई प्रत्यक्ष अनुभूति हुने गरी कार्यान्वयन गरेर देखाउने प्रतिज्ञा गरेकी छन् ।
आफ्नो रुपको सुन्दरता जस्तै टोखालाई सुन्दर र हरियाली नगर बनाउने उनको तीव्र चाहना र योजना देखेर प्रतिस्पर्धी दलका उम्मेदवारहरुले उनको आलोचना र विरोध गर्ने विषय नभेटेर सानै उमेरको महिला भएको भन्ने टिप्पणी मात्र गर्ने गरेका छन् । रजनीको घर दैलो कार्यक्रमको व्यस्तताको क्रममा उनलाई धेरै जसो महिला र वृद्धवृद्धाले पहिले नै आशीर्वाद दिन थालेका छन् ।