काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातको उच्च वृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले वृद्धि भएको बताएका छन् ।
बैंकको ६७औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा अधिकारीले आर्थिक वर्ष २०७८÷७९ को आठ महिनाको अवधिमा आयातमा ३८ प्रतिशतले वृद्धि भएकाले र मुलुकको व्यापार घाटा वद्धि भएको बताए ।
निक्षेपभन्दा कर्जा धेरै भएकाले अझै पनि बैंकिङ क्षेत्र तरलता अभाव कायमै रहेको उनले बताए । उनले चालु आर्थिक वर्ष कृषिजन्य उत्पादनमा हुने केही वृद्धि, बन्दाबन्दीको अन्त्यपश्चात् आर्थिक गतिविधिमा देखिएको सुधार, पर्यटक आगमनमा भएको बढोत्तरी, आन्तरिक तथा बाह्य व्यापारमा भएको वृद्धिलगायतका कारण आर्थिक पुनरूत्थानले गति लिइ आर्थिक वृद्धिमा केही सुधार हुने बताए ।
त्यस्तै, उनले आर्थिक वर्ष २०७८÷७९ को आठ महिनासम्म विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले कमी आइ रु ६३१ अर्ब १९ करोड कायम भएको जानकारी दिए ।
चालु आवमा राष्ट्र बैंकले धेरै नीतिगत व्यवस्था गरेर अर्थतन्त्रलाई सहज बनाउने प्रयास गरेको दाबी गरे । राष्ट्र बैंकले सुरु गरेको पाँच वर्षे रणनीतिक योजना अन्तर्गत २०२२–२६ स्वीकृत भइसकेको जानकारी दिए । त्यस्तै, सूचना प्रविधि माहाशाखालाई विभाग बनाइएको र अन्य सुधारका काम गरेको दाबी गरे ।