काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ११६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरुले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हुन् ।
आइतबार ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजनीतामा दिएका छन् भने ८७ वडा सदस्यहरुले पनि राजीनामा दिएको कामपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।
स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
कामपाको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ ओटा वडाका अध्यक्षबाट राजीनामा आउँन बाँकी छ । आजसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनिधिबाट राजीनामा आउनसक्ने कामपाको भनाइ छ ।
निर्वाचनमा उम्मेदवारी नदिने हो भने राजीनामा दिनुपर्ने छैन । कामपामा प्रमुख र उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् ।