काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले उमेदवारी दर्ता गराएका छन् ।
आइतबार काठमाडौँको सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले उमेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि शाहले स्थानीय तहमा स्वतन्त्र व्यक्ति पुगेर काम गर्दा सकारात्मक नतिजा आउने दाबी गरे ।
स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने आफूहरुको सिद्धान्त रहेको र आफूलाई युवाहरुको साथ रहेको उनले बताए । त्यस्तै, उनले कांग्रेस र एमालेको भोट काट्नका लागि उम्मेदवारी दिएको जित सुनिश्चित रहेको धारणा राखे ।
आइतबारनै विवेकशील साझा पार्टीका उम्मेदवार समीक्षा बाँस्कोटाले पनि काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवारी दताए गराएकी छन् । उम्मेदवारी दर्ता गराउदै बाँस्कोटाले काठमाडौँमा वैकल्पिक राजनीतिक शक्ति विवेकशील साझा रहेको बताइन् । उनले महानगरभित्रको समस्याको समाधानका लागि योजनाबद्ध ढंगले काम गर्ने दाबी गरिन् ।
ठुला दलका प्रतिनिधिहरुले भने काठमाडौँमा सोमबार मात्रै उम्मेदवारी दिने तयारी गरेका छन् ।