काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरुले भनेका छन् ।
प्रतिनिधिसभा विधटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उनले त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरुलाई भनेका हुन् ।
केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् । “केही केही साथीहरुले यसो मौका पर्या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ,” उनले भने,“यस्ता खालका गलत कुराहरु हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरुले भुलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौँ ।”
उनले संसद् विघटन नगरेको भए प्रचण्डका भाइ, भतिजा, छोरी, ज्वाइँ, सालासालीलाई नियुक्त दिँदादिँदै पार्टी बदनाम हुने दाबी गरे । उनले त्यही विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रुपमा रहेको जिकिर पनि गरे ।
अब एमाले पार्टी एकस्वरमा अगाडि बढ्नुपर्ने भन्दै विरोधका आवाज र पार्टीले विगतमा गरेका निर्णयविरुद्ध नबोल्न ओलीले नेताहरुलाई भनेका हुन् ।
ओलीले तराई मधेसमा पहिलेभन्दा अहिले एमालेको पक्षमा लहर आएको दाबी गरे । “मधेसमा अहिले एमालेको लहर आएको छ,” ओलीले भने,“पहिलेको भन्दा स्थिति अहिले धेरै राम्रो छ । एउटा प्रदेशमा नै एमालेलाई निषेध थियो । आज त्यो प्रदेशभर एमाले मजबुद छ ।”
उनले मजबुद गढका रुपमा मधेसमा एमाले अगाडि आएको उनको दाबी थियो ।
“पहिलोपल्ट म प्रधानमन्त्री भएको बेलामा खटेर नाकाबन्दी खुलाएको थिएँ,” ओलीले भने,“अनेक विकास निर्माणका काम अघि बढाउने भनेर आत्मविश्वासका साथ अघि बढेपछि थर्कमानको स्थिति भयो ।”