काठमाडौँ । लामो समयको रस्काकस्सीपछि र विभिन्न चरणका वार्ताहरुपछि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गर्ने भनिएको तालमेलको मोडालिटी टुंग्याएको छ ।
सहमतिअनुसार कांग्रेसको भागमा महानगरमा कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर लिनेछन् । यस्तै, माअोवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज लिनेछन् ।
यस्तै, धरान, इटहरी, कलैया, तुल्सीपुर, बुटवल, नेपालगञ्ज, धनगढी उपमहानगरपालिका परेको छ ।
माओवादी केन्द्रको भागमा जितपुर सिमरा र घोराही तथा एकीकृत समाजवादीको भागमा हेटौंडा तथा जसपाको भागमा जनकपुर उपमहानगरपालिका परेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेताहरु जुटेका थिए, छलफल गरिरहेका थिए । त्यही समयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालगायत नेताहरु नेविसंघको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी थिए । कार्यक्रममा कोइरालानिकट अर्का नेता पनि थिए, डा.मीनेन्द्र रिजाल ।
कार्यक्रममा यी तीन नेताले गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेर कांग्रेसलाई थप कमजोर बनाएको आशय व्यक्त गरे । शेखर, गगन थापा र रिजाल तीनै जनाले गठबन्धनको चुनावी तालमेलको विरोध गरेका छन् ।
कार्यक्रममा शेखर कोइरालाले आफूले केही दिनअघि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङसँग भेटेको कुरा मात्र सम्झिएनन्, नेम्वाङले किसुनजीको कुरा उप्काएको पनि बताए । अनि उनले कार्यक्रममा आफू र कांग्रेस महामन्त्री गगन थापाबीच गठबन्धनका कारण र अहिलेको चुनावी तालमेलका कारण कांग्रेस भए पनि अरु चुनाव चिन्हमा मत हाल्नु पर्ने बाध्यता आइपरेको विषयमा चर्चा भएको बताएका छन् ।
यी तीन नेताले काठमाडौँमा नेविसंघको कार्यक्रममा गठबन्धनको चुनावी तालमेलको विषयमा विरोध जनाउँदै गर्दा कांग्रेसका अर्का नेता विमलेन्द्र निधि चाहिँ कांग्रेसको यो निर्णयले गर्दा मधेसमा कांग्रेसको अवस्था थप कमजोर हुने बताउँदै थिए ।
मधेस प्रदेशमा त कांग्रेसको निर्णय आएसँगै सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी पनि भएको छ ।
गठबन्धनले ६ महानगर र ११ उपमहानगरको भागबन्डा लगाएपछि विभिन्न स्थानमा कांग्रेसका पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कास्की कांग्रेसले पनि पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय गरेको भन्दै त्यसको विरोधमा आफ्नो आवाज अझ चर्को बनाएको छ ।
उता, भरतपुरमा पनि महानगर मेयरको उम्मेदवारी माओवादी केन्द्रलाई दिने सहमति भएसँगै नेताहरुले विरोधको स्वरलाई थप चर्काएका छन् ।