काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रातृ एवम् शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसंघले उपत्यका क्याम्पस एकाइले आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उनले भ्रातृ एवम् शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताए ।
“हामी के कारणले कम्युनिस्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौँ, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्य पुग्न सक्छ,” उनले भने ।
उनले कांग्रेसलाई कुनै शक्तिको बैशाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गरे । उनले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताए । नेविसंघलाई पूर्णता दिएमात्र कांग्रेस बलियो हुने उनको भनाइ थियो ।