काठमाडौँ । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको बाँडफाँटमा सहमति जुटाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन दलको बैठकमा ६ महानगर र ११ उपमहानगरको मेयर र उपमेयर बाँडफाँटमा सहमति जुटाएको हो ।
सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौँ र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिने छ । त्यस्तै, कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरको उपप्रमुख पाएको छ ।
माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ भने ललितपुर महानगर , धरान र धनगढी उपमहानगरको उपप्रमुख पाएको छ ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको छ भने काठमाडौँ महानगर, इटहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपप्रमुख दिने सहमति भएको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको भने बिराटनगर तथा कलैया र नेपालगंजको उपप्रमुख पाएको कार्कीले बताए ।
उनले गठबन्धनको मापदण्ड र सहमतिका आधारमा सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको बताए । त्यस्तै, सहमति बन्न नसकेको अवस्थामा गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समझदारी बनेको कार्कीले जानकारी दिए ।
गठबन्धनको सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

