राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति [पूर्णपाठ]
काठमाडौँ । ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय समेटेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय निर्वाचन केन्द्रित घोषणा पत्र सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा भ्रष्टाचारका निम्ति शून्य सहनशीलताको नीति र सबै वर्ग, क्षेत्रमा सुशासनको लक्ष्यसहित चुनाव जितेको ६ महिनासम्ममा विपन्न परिवारको पहिचान गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षा, प्रारम्भिक बाल विकास शिक्षा, वर्ग तथा अल्पसंख्यक समुदायका साथै स्थानीय तहमा मातृभाषा शिक्षा, सबै नागरिकलाई निःशुल्क अनिवार्य बीमालगायतका विषय समेटिएको छ ।
त्यस्तै, किसानको खेत–खेतमा बिजुली, बालीनाली क्षति भएमा कृषि तथा बाली बीमाको व्यवस्था, चार वर्षभित्र आधारभूत खानेपानीको सुरक्षा, एक घर, एक धारासमेत घोषणापत्रमा रहेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । राजतन्त्र र हिन्दू राष्ट्र पुर्नस्थापनाको एजेन्डा पार्टीको आधार स्तम्भ रहेको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी स्थानीय तहमा विजय हासिल गर्ने स्थानलाई प्राथमिकताका साथ राखिएको बताए ।
राप्रपाले जातीय छुवाछूतको पूर्णरुपमा अन्त्य, ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक निःशुल्क आधारभूत स्वास्थ्य परीक्षणको व्यवस्था, भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित समुदायको जीवनस्तर सहज बनाउन बत्ती, खानेपानी, ढल आदिको व्यवस्था गर्नेलगायतका प्रतिबद्धता घोषणा पत्रमार्फत् गरेको छ ।
rpp