११ ओटा उपमहानरमध्ये जनकपुर र नेपालगञ्जको भागबन्डा मिल्न बाँकी

98

काठमाडौँ । जनकपुर र नेपालगञ्ज उपमहानगरपालिकामा भागबन्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।

६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगो लागे पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन । गएराति अबेरसम्म भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा)ले दुवैको मेयरमा दाबी नछाडेपछि आज फेरि बैठक हुन लागेको हो ।

११ ओटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र नेकपा (माओवादी केन्द्र)ले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र नेकपा (एकीकृत समाजवादी)ले उपमेयर पाउने सहमति भएको छ । यस्तै, घोराही र जितपुर–सिमरामा माअ‍ोवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी बाँडफाँट भएको छ ।

हेटौंडामा मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेस तथा कलैयामा मेयर कांग्रेस र उपमेयर जसपाले पाउने सहमति भएको छ ।

६ ओटा महानगरमा भने सहमति भइसकेको छ । सहमतिअनुसार काठमाडौँमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादी, ललितपुरमा मेयर कांग्रेस र उपमेयर माओवादी, विराटनगरमा मेयर कांग्रेस र उपमेयर जसपाबाट उपमेयर उम्मेदवार बन्नेछन् ।

यस्तै, भरतपुरमा मेयर माओवादी र उपमेयर कांग्रेस, पोखराको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस तथा वीरगञ्जको मेयरमा जसपा र उपमेयरमा कांग्रेसबाट उम्मेदवार हुनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...