आ–आफ्नै दाबीले सकसमा गठबन्धन

292

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाको भागबन्डा मिलाउन बसेको सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन संयन्त्रको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बैठकमा दलहरूले आफ्नो तर्फबाट महानगर र उपमहानगरको दाबेदारी प्रस्तुत गरेका थिए । शीर्ष नेताहरुको बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको तथारी तथा अनुगमन संयन्त्रको आइतबार अपरान्ह बसेको बैठकमा तालमेलको प्रयास भए पनि सहमति जुट्न सकेन ।

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । काठमाडौँ, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन ओटा अरु दललाई दिन माओवादीले प्रस्ताव गरेको थियो । भरतपुर आफूले, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)ले लिनुपर्ने माओवादीको प्रस्ताव छ ।

११ उपमहानगरपालिकामध्ये जितपुर, सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्वमा माओवादीको दाबी छ । त्यसैगरी, एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिकाको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ ।

महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । तर, कुन तहमा कसलाई उठाउने भन्ने निष्कर्षमा पुग्न सकेका छैन ।

Share This:
सम्बन्धित खबर
Loading...