राष्ट्रपति भण्डारीबाट नयाँ वर्षको शुभकामना

218

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्व नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुवात भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताइन् ।

हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्वी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सन्देशमार्फत् भनिएको छ ।

ठुलो संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाइ गरिनु हुँदैन । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोहीअनुसारका नीति अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन संघीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

प्रकृतिप्रदत्त स्रोतको दिगो व्यवस्थापन एवम् उपयोगमार्फत वातावरणमैत्री आर्थिक विकासद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न प्रयन्तशील हुनुपर्ने सन्देशमार्फत् भनिएको छ ।

विक्रम संवम् २०७९ निर्वाचनको वर्ष बन्न गइरहेको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु लोकतन्त्रको उच्चतम् अभ्यास भएको हुनाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई सोहीअनुरुप सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी रहेको पनि राष्ट्रपति भण्डारीले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...