पर्यटन प्रवर्द्धनमा कलाकारको भूमिका अहम् हुन्छ : मन्त्री आले

224

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा कलाकारहरुको अहम् भूमिका रहेको बताएका छन् ।

बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको १६औँ ब्लक बस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा उनले कलाकारहरुले निर्माण गरेका नेपाली फिल्महरुका कारण हाम्रा पर्यटकीय क्षेत्रहरु देश विदेशमा चिनिएको बताए ।

उनले भने,“नेपाली कलाकारले निर्माण गरेका फिल्मका कारण हाम्रा देशका कला संस्कृतिको जर्गेनामा कलाकारको अहम् भूमिका छ ।” कोरोना भाइरसका कारण विगत २ वर्षदेखि थला परेको नेपालको पर्यटन क्षेत्र अब माथि उकास्न तथा प्रचार प्रसार गर्नसमेत मन्त्री आलेले सबै कलाकारमा आग्रह गरे ।

उनले नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने खालका चलचित्र निर्माण गर्नसमेत आग्रह गरे । उनले भने,“निर्देशक साथीहरुले अहिलेसम्म निर्माण गरेका फिल्महरु नेपाल र यहाँका पर्यटकीय क्षेत्र चिनाउने खालका छन्, अझै पनि हाम्रा कला संस्कृति चिनाउने फिल्महरु निर्माण गर्नुस्, मैले गर्नसक्ने सहयोग गर्नेछु ।”

नेपालका हिमालमा चलचित्र निर्माणदेखि लिएर यहाँका पर्यटकीय क्षेत्रमा निर्माण गरिने चलचित्रहरुमा राजश्व बढी लाग्ने गरेको भन्ने गुनासोसमेत आएकाले ती क्षेत्रहरु आफ्नै मन्त्रालयअन्तर्गत पर्ने भएकाले राजश्वमा केही कमी गर्नका लागि पहल गर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...