काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा (एकीकृत समाजवादी)लाई स्पष्टीकरण सोधेको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त भएको र सो विषयमा तीन दिनभित्र जबाफ दिन भनिएको जानकारी दिए ।
त्यस्तै, आयोगले चुनाव खर्चबारे दिएको सार्वजनिक भनाइका विषयमा कांग्रेसका नेता डा.शशांक कोइरालासँग जबाफ मागेको छ । २०७४ को निर्वाचनमा कोइरालाको निर्वाचन खर्च विवरण २१ लाख ७५ हजार मात्र उल्लेख भएको र ६ करोड खर्च भएको अभिव्यक्ति दिएको भन्दै यस विषयमा सात दिनभित्र जानकारी दिन भनिएको प्रवक्ता पौडेलले बताए ।
स्थानीय निर्वाचनका लागि २८ जिल्लाको ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिए । त्यस्तै, सबै निर्वाचन अधिकृतले पाउनेगरि एक एक प्रति मतदाता नामावली पठाएसकेको उनले बताए ।
त्यस्तै, निर्वाचन आचारसंहिता लागु हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ ।