राष्ट्र बैंकको ऐनअनुसार नै गभर्नरलाई निलम्बन गरिएको हो : अर्थमन्त्री शर्मा

181

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐनअनुसार भएको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले राष्ट्र बैंकको गभर्नर अधिकारी निलम्बन राष्ट्र बैंकको ऐनअनुसार भएको बताएका हुन् । उनले सरकारले राष्ट्र बैंकको ऐन कानुनअनुसार कारबाही गरेकाले त्यो कानुन सम्मत भएको तर्क समेत गरे ।

मन्त्री शर्माले छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे ।

उनले भने,“नेपाल राष्ट्र बैंकको गभर्नर निलम्बनको राष्ट्र बैंकको ऐनअनुसार कारबाही गरिएको हो । यो कानुन सम्मत कुरा नै हो । किन गरियो भन्नेबारेमा गभर्नरलाई छानबिन गर्न एउटा समिति बनाएका छौँ । समितिले छानबिन गरेर हामीलाई रिपोर्ट दिने छ । त्यो रिपोर्टले यी सबै प्रश्नको जबाफ दिने छ ।”

मन्त्री शर्माले हालसम्म उपलब्ध विवरणका आधारमा मुलुकको अर्थतन्त्रमा ठुलो संकट नआएको दाबी गरे । उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने भन्दै व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको तर्क गरे । अर्थमन्त्री जनार्दश शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति जनाउँदै यसरी अफवाह फैलाउनु राष्ट्रघात भएको बताए

Share This:
सम्बन्धित खबर
Loading...