बाँके । कारले ठक्कर दिँदा नेपालगञ्जमा गएराति तीन जनाको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित बिपी चोक नजिकै सडकमा हिँडिरहेकालाई कारले ठक्कर दिएको थियो । आइतबार राति प्रदेश ३–०१–२३च ८४८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्याल बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।
कारको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कमि इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्य भएको उनले बताए ।
सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले नै शिक्षण अस्पताल नेपालगञ्ज पुर्र्याएका थिए ।
अस्पताल पुर्याएको १५ मिनेटपछि उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहले बताए ।
कार चालक नेपालगञ्ज उपमहानगर–१० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।