ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि आयातित संस्कारलाई प्रवर्द्धन नगर्न आग्रह गरेकी छन् ।
सिंचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भनिन्,“स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवर्द्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्यको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रवर्द्धन गरौँ ।”
व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री भुसालले भनिन्,“सिंचाइ विभागको तथ्याङ्कमा सन् २०१९/२० मा नेपालको कृषि व्यापार घाटा लगभग रु दुई खर्ब ५० अर्ब रहेकामा र सन् २०२१/२२ मा ३० प्रतिशतले वृद्धि भएर रु तीन खर्ब २५ अर्ब पुगेको छ, यो अत्यन्त चुनौतीको विषय भएको छ । अब थप व्यापार घाटा बढ्न नदिन पनि हामीले आयातलाई निरुत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ ।”
हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्याङ्कले बसोबासको अवस्थामा फेरबदल ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमि खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताइन् ।
उनले बसाइँ सराइको चुनौतीलाई सम्बोधन गर्ने गरी नीति विकास गर्नुपर्ने आवश्यकता औँल्याइन् । देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रवर्द्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा सबै स्थानको कृषियोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।