काठमाडौँ महानगरबाट १५ ओटा शव वाहन हस्तान्तरण

242

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शव वाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज ती शव वाहनको साँचो हस्तान्तरण गरेका हुन् । साँचो हस्तान्तरणपछि सम्बोधन गर्दै प्रमुख शाक्यले यस अघि पनि सामूदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराए ।

“काठमाडौँ महानगरपालिका आफैँले शव वाहन सञ्चालन गर्नुपर्छ भन्नेहरु पनि छन् तर काठमाडौँ महानगरलाई नामभन्दा काम चाहिएको छ,” उनले भने, “हामीले सहकार्यको हात बढाउँदै आज शव वाहन हस्तान्तरण गर्दै हाम्रो दायित्व पूरा गरेका छौँ । अब तपाईंहरुले महानगर र उपत्यकाबासीको अपेक्षा गरेअनुसार यी शव वाहनको प्रयोग गर्नुहोला ।”

उनले कोभिडका बेला पनि महानगरपालिकाले विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर भेन्टिलेटरलगायतका उपकरण सहयोग गरेको स्मरण गराए । “कोभिड महामारी सबैको साझा समस्याका रुपमा देखा पर्यो,” उनले भने, “त्यो साझा समस्यासँग लड्न काठमाडौँ महानगरपालिकाले आफ्नो ठाउँबाट सक्दो सहयोग गरेको स्मरण गराउन चाहन्छु ।” उनले सबैको साझा प्रयास भयो भने जनतामा आउने नैरश्यतालाई सकेसम्म निर्मूल नभए पनि धेरै हदसम्म कम गर्न र उत्साह थप्न सकिने बताए ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

काठमाडौँ महानगरपालिकाले आज एकै पटक क्षत्रपार्टी निशुल्क चिकित्सालय, नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शव वाहन हस्तान्तरण गरेको हो ।

महानगरपालिकाले दिएको जानकारी अनुसार ती प्रत्येक शव वाहनको मूल्य करिब १२ लाख ४ हजार परेको छ । सम्झौताअनुसार ती शव वाहनले उपत्यका भित्र निःशुल्क सेवा प्रवाह गर्नुपर्ने छ ।

काठमाडौँ महानगरपालिकाले १५ शव वाहनमध्ये नेपाल एपिएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुई ओटा हस्तान्तरण गरेको हो ।

प्रमुख शाक्यले हस्तान्तरण गरेको शव वाहनको साँचो ग्रहण गर्दै एपिएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरपालिकाले दिएका शव वाहनको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...