निर्वाचन आचार संहिता पूर्ण पालना होस् : पूर्वअध्यक्ष रेग्मी

261

कामाठडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचार संहिता पालनामा प्रतिबद्धता मात्र नभइ व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् ।

आचार संहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन्त्रको सुदृढीकरण र निष्ठाको राजनीति संस्कारलाई स्थापित गर्न आचार संहिता पालनामा सबैले ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

संविधानसभामार्फत् संविधान जारी गर्ने नेपाली जनताको पुस्तौँदेखिको आकांक्षालाई मूर्तरुप दिन उनकै नेतृत्वमा गठन भएको सरकारले संविधानसभाको दोस्रो सफल निर्वाचन गरेको थियो । उक्त निर्वाचनमा ७८.३४ प्रतिशत मतदान भएको थियो ।

पूर्वअध्यक्ष रेग्मीले भने,“नेपाली जनताको हित र समृद्धिमा संविधान कार्यान्वयन गर्दै अघि बढ्ने कार्यमा सबै लाग्नुपर्छ, विशेष गरी राजनीतिक दलको नेतृत्व वर्गको गहनतम दायित्व हो ।”

तीनै तह (संघ, प्रदेश र स्थानीय)को निर्वाचन गर्नुपर्ने भएकाले आगामी वर्षलाई निर्वाचन वर्षका रुपमा लिन सकिने उल्लेख गर्दै उनले जनताले चाहेका उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न तथा निर्वाचनमा जनसहभागिता, प्रतिस्पर्धा, स्वच्छता, विश्वसनीयता कायम गर्ने वातावरण बनाउनु सबैको पहिलो कर्तव्य भएको बताए ।

निर्वाचनमा मत हाल्ने जनता र राजनीतिक दलबीचमा निर्वाचनप्रतिको आस्था र विश्वासलाई डकमगाउन नदिने वातावरण राज्यका सबै निकायबाट हुन जरुरी रहेको बताउँदै उनले निर्वाचनमा केही कसैबाट कहीँकतै कमी कमजोरी र भुलचुक हुन दिन नहुने बताए ।

निर्वाचनको वातावरण र परिस्थिति निर्माणले नै मतदाताको व्यापक सहभागिता निर्वाचन गर्न सकिने जनाउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले भने,“आगामी निर्वाचनमा सही गन्तव्य, सही परिवेश, सही परिस्थिति, सही वातावरण निर्माण गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदानमार्फत् निष्कलंक, कर्मशील र निष्ठावान् व्यक्तिको चयन भएमात्र अनि देशले विकासलगायत हरेक क्षेत्रमा फड्को मार्छ भन्ने मलाई विश्वास छ ।”

Share This:
सम्बन्धित खबर
Loading...