प्राकृतिक स्रोतको समान वितरणबाट असमानता हट्छ : मुख्यमन्त्री राई

249

मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्राकृतिक स्रोतको समान वितरणबाट मुलुकमा रहेका असमानता हटेर जाने बताएका छन् ।

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरावेदनबाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना र आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी पाँचौँ आवधिक प्रतिवेदनको प्रारम्भिक मस्यौदासम्बन्धी छलफलमा उनले उत्पादनको न्यायोचित वितरण र उनीहरुको अनिवार्य आवश्यकतालाई राज्यले पूरा गरेर असमानता हटाउनुपर्ने बताए ।

विभेदले केही जातजातिको नश्ल लोप हुने अवस्था सिर्जना हुन लागेको प्रति सचेत हुनुपर्ने बताउँदै उनले ती समुदायलाई जोगाउन आरक्षण एवम् विशेष अधिकार दिनुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री राईले नागरिकको मानवअधिकार संरक्षण गरी कार्यान्वयनमा तीन तहको सरकारको मुख्य जिम्मेवारी रहेको बताए । उनले मानव अधिकारसम्बन्धी मौजुदा ऐन कानुनमा रहेका त्रुटी सच्याइ सुधार गर्नुपर्ने सुझाव दिँदै मुलुकको विकासका साथै सरकारले लोककल्याणकारी कार्यलाई अगाडि बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव धनराज ज्ञवालीले नेपाल मानव अधिकार प्रतिबद्धतामा विश्वका धेरै मुलुकभन्दा अगाडि रहेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...